आधुनिक प्रबिधि युक्त नयाँ धरहरा

अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको एक कार्यक्रमका बीच धरहराको प्राविधिक प्रस्तावलाई सार्वजनिक गरिएको छ। तीन अर्ब रुपैयाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको सो प्रस्तावअनुसार अब धरहरा क्षेत्रमा अहिले रहेको गोश्वारा हुलाक र टक्सार कार्यालय समेत गाभिनेछ।

उक्त प्रस्ताव तयार पार्ने वास्तुकार विष्णु पन्थीले पुरानो धरहराकै स्वरुपमा नयाँ धरहरा निर्माण गरिने बताए। भित्री भागमा केही व्यापारिक केन्द्र हुने भए पनि बाहिरी स्वरुप पुरानै धरहराको रहनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले नयाँ धरहरा आठ रेक्टर स्केलसम्मको भूकम्पले समेत नहल्लाउने गरी बनाइने बताएका छन्।

‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने अभियानअन्तर्गत रु एक करोड ९५ लाख सङ्कलन भइसकेको जानकारी दिँदै मन्त्री पोखरेलले भने, ‘धरहरा निर्माणका लागि लाग्ने रु तीन अर्बमध्ये सर्वसाधारणबाट सङ्कलन भएर पनि नपुगे जति रकम नेपाल टेलिकमले बेहोर्नेछ।’

नयाँ धरहरा क्षेत्रमा छिर्नेबित्तिकै बगैंचा देख्न सकिनेछ। बगैंचा वरिपरि बस्न मिल्ने र पानी परेका बेला ओत लाग्ने ठाउँ समेत राखिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *